काठमाडौं । वरिष्ठ लोकगायक तथा कलाकार कमल विके निर्मोहीको निधन भएको छ। लामो समयदेखि दुवै मिर्गौलाको समस्याबाट पीडित निर्मोहीको उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ।
गत शनिबार एक्कासी बेहोस भएपछि निर्मोहीलाई उपचारका लागि भेरी अस्पतालको आइसियुमा भर्ना गरिएको थियो। उपचारका क्रममा स्वास्थ्य अवस्था सुधार नदेखिएपछि सोमबार उनलाई भेन्टिलेटरमा राखेर सघन उपचार थालिएको थियो। उपचारकै क्रममा मंगलबार साँझ करिब ५ बजे उनको निधन भएको हो।
दाङ जिल्लाको तत्कालीन फूलबारी गाविसमा जन्मिएका निर्मोही पछिल्लो समय नेपालगन्जमा बसोबास गर्दै आएका थिए।
लोकसङ्गीत क्षेत्रमा लामो समयदेखि सक्रिय निर्मोहीका ‘बुलबुल तालैमा’, ‘आउँ त भने’, ‘मैले भन्थे नि’, ‘सलल बग्ने’, ‘ताने झै माया’, ‘अरू मैले’, ‘वनको फूल फुलेछ’, ‘कठै सानु’, ‘भेरी दोभान’, ‘लाग्यो माया’लगायतका गीत चर्चित छन् ।
निर्मोहीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न आफन्त, कलाकार तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।