November 10, 2026, Tuesday
२०८३ कार्तिक २५
1:37:26 pm

निर्वाचनका लागि भारत सरकारले दियो ८० वटा गाडी

२०७९ कार्तिक १७

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रयोजनार्थ निर्वाचन आयोगलाई भारत सरकारले ८० वटा सवारी साधन प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई सवारी साधन हस्तान्तरण गरे ।

सवारी साधन हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले सहयोगका लागि भारत सरकार तथा नेपालका लागि भारतीय राजदूत श्रीवास्तवलाई धन्यवाद दिए । नेपाल र भारतबीच लामो समयदेखि रहेको मित्रताबारे उल्लेख गर्दै उनले दुई देशबीचको सम्बन्ध आपसी सद्भाव, द्विपक्षीय सहयोग र सहकार्यमा आधारित भएको बताए ।

आवधिक निर्वाचन लोकतान्त्रिक प्रणालीलाई जीवित राख्न अपरिहार्य भएको उल्लेख गर्दै उहाँले भारत सरकारले विभिन्न समयमा दिएको सवारी साधन, निर्वाचन सामग्री तथा अन्य आवश्यक सहयोगका लागि समेत धन्यवाद ज्ञापन गरे ।

Advertisement

समारोहमा नेपालका लागि महामहिम भारतीय राजदूत श्रीवास्तवले नेपाल सरकार र नेपालको निर्वाचन आयोगको आग्रहमा भारत सरकारले उक्त सहयोग प्रदान गरेको बताए ।