काठमाडौं । काठमाडौं शाक्य महाविहार संघको टोलीले नुवाकोटका ऐतिहासिक धार्मिक स्थलहरूको भ्रमण गरेको छ ।
नेपाल मण्डल काठमाडौं तथा अन्य क्षेत्रमा रहेका सम्पदा, बहाल र बहिहरूको संरक्षण–सम्बर्द्धन गर्ने तथा शाक्य वंशको उत्पत्ति, ऐतिहासिक तथ्य र सांस्कृतिक परम्पराको जगेर्ना गर्ने उद्देश्यसहित वि.सं. २०७१ सालमा स्थापना भएको हो ।
काठमाडौंका सबै महाविहारहरूबाट एक एकजना प्रतिनिधि सम्मिलित गरी गठन गरिएको संघले स्थापना कालदेखि नै लोपोन्मुख अवस्थामा रहेको ‘शाक्य संघायण’ कार्यलाई पुनः सञ्चालनमा ल्याएको जनाएको छ ।
जिर्ण अवस्थामा रहेका काठमाडौंका विहारहरूको क्वापाःछेँ (गुठीघर) पुनर्निर्माणका लागि बजेट व्यवस्थापन गर्नुका साथै इन्द्र जात्राको प्रमुख आकर्षण परम्परागत कुमारी, गणेश र भैरवको छनोट प्रक्रियालाई आफ्नो दायराभित्र ल्याई मर्यादित र व्यवस्थित बनाएको संघले जानकारी दिएको छ । यसअघि उक्त छनोट प्रक्रिया विवादित बन्दै आएको थियो ।
संघले बौद्ध विहारसँग सम्बन्धित ताडपत्र, शिलालेख तथा अन्य ऐतिहासिक अभिलेखहरूको अनुसन्धान र संरक्षण कार्य पनि निरन्तर रूपमा अघि बढाउँदै आएको छ । झट्ट हेर्दा जातीय संस्थाजस्तो देखिए पनि यसको मूल उद्देश्य नेपाल अधिराज्यभर छरिएर रहेका सम्पूर्ण धार्मिक तथा पर्यटकीय स्थलहरूको संरक्षण, सम्बद्र्धन र विकास गर्नुका साथै नयाँ पुस्तामा भाषा, संस्कार र संस्कृतिप्रति जागरण ल्याउनु रहेको संघको भनाइ छ ।
सोही अभियानअन्तर्गत संघले हालै नुवाकोटमा अवस्थित करिब १७ सय वर्ष पुरानो ऐतिहासिक धार्मिक स्थल स्वयम्भू दुप्चेश्वर महादेव तथा सुगतपुर बुद्ध विहारको स्थलगत अवलोकन भ्रमण गरेको हो ।
सुगतपुर विहारमा आयोजित कार्यक्रममा वक्ताहरूले विश्वशान्तिका लागि बुद्ध दर्शन अपरिहार्य रहेको धारणा राखेका थिए । उनीहरूले बुद्धको मूर्ति मात्र स्थापित गरेर धर्म पूरा नहुने, धर्मको मूल मर्म बुझेर आचरणमा उतार्नुपर्नेमा जोड दिएका थिए । “धूप–दीप बालेर मात्र धर्म प्राप्त हुँदैन, बुद्धको शिक्षा र दर्शनलाई जीवनमा उतार्न सके मात्र साँचो अर्थमा धर्मको अनुभूति हुन्छ,” वक्ताहरूको भनाइ थियो ।
संघका महासचिव संघरत्न शाक्यले बुद्धको दर्शनलाई बेवास्ता गर्दै ठूला राष्ट्रहरूले द्वन्द्व निम्त्याइरहेको र यसले सम्पूर्ण प्राणीलाई भयमुक्त भई बाँच्न पाउने अधिकारबाट वञ्चित गरिरहेकोप्रति दुःख व्यक्त गरे । कार्यक्रममा विहारका भन्ते शारड भन्तेले त्रिपिटकको मूल सारसंक्षेपमा धर्मदेशना गरेका थिए ।
त्यसैगरी, विहारका अध्यक्ष आनन्दरत्न शाक्यले विहार स्थापनाको उद्देश्यबारे प्रकाश पारेका थिए । नुवाकोटमै अवस्थित पुरानो चैत्यको पुनर्निर्माण तथा संरक्षण कार्यमा सक्रिय गौतममान सिंहले स्वयम्भू महाचैत्य क्षेत्रको ऐतिहासिकता र महत्वबारे व्याख्या गरेका थिए । संघका अध्यक्ष शुभकाजी शाक्यले भ्रमणको महत्व र भावी योजनाबारे जानकारी दिएका थिए भने कार्यक्रमको सञ्चालन संघका सदस्य मणिकर शाक्यले गरेका थिए ।
भ्रमणमा सहभागी सदस्यहरूले सुगतपुर विहार तथा स्वयम्भू चैत्य स्थलको निर्माण तथा संरक्षणका लागि स्वेच्छिक रूपमा आर्थिक सहयोग प्रदान गरेका थिए । सहयोगप्रति विहार पक्षबाट धन्यवाद ज्ञापन गरिएको थियो । काठमाडौँ महाविहार संघले विगत लामो समयदेखि देशका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलहरूको स्थलगत अध्ययन, अन्वेषण र प्रचार–प्रसार गर्दै आएको छ ।
स्थानीय समुदायसँग संस्कार–संस्कृतिको आदान–प्रदान, वैचारिक विमर्श र विश्वशान्तिको कामनालाई संस्थाले आफ्नो मूल अभियानका रूपमा अघि बढाउँदै आएको जनाएको छ ।