काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउनका लागि निर्वाचनमा गठबन्धनको आवश्यकता रहेको बताएका छन् । शनिबार काठमाडौंमा बीपी स्मृति सामुदायिक सहकारी अस्प्तालको १४औं बार्षिक साधारसभा उद्घाटन समारोहमा बोल्दै देउवाले पार्टीलाई बलियो बनाउनका लागि नै गठबन्धनको आवश्यकता रहेको बताएका हुन् ।
प्रधानमन्त्री देउवाले आफ्नो कर्तव्य भनेको नै पार्टीलाइ जिताउनु भएको जिकिर गर्दै गठबन्धनको कुरा गरेर आफूले केही नबिगारेको र पार्टीको हितका लागि नै काम गरेको दाबी गरेका छन् । नेकपा एमाले अहिले पनि बलियो नै रहेको हुँदा काँग्रेसले गठबन्धन नगरे एमाले र माओवादी मिल्ने सम्भावना रहेको देउवाले बताए ।
त्यस्तै देउवाले अहिले गुटको अन्त्य नहुने बताए । बीपी र सुवर्णसमशेर देखि नै पार्टी भित्र गुट रहेको भन्दै तत्काल पार्टीको गुट अन्त्य हुन नसक्ने उनको तर्क थियो ।
कार्यक्रममा काँग्रेस नेता शेखर कोईरालाले काँग्रेसको आफ्नै बिचार र सिद्धान्तले निर्वाचनमा जानुपर्ने बताए । गठबन्धनका कारण काँग्रेसको अवस्थामा भारतीय काँग्रेसकै जस्तो हुन्छ की भन्ने आशंका पैदा भएको उनको भनाइ थियो ।