November 9, 2026, Monday
२०८३ कार्तिक २३
1:37:26 pm

पोखरेल र डा.भट्टराईको पैसा बाँड्दै गर्दा एमाले नगर अध्यक्षसहितका नेता पक्राउ, कांग्रेस समर्थकको नाराबाजी

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ र ५ मा मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोपमा नेकपा एमालेका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

शुक्रबार साँझ एमाले बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोल नेतृत्वको टोलीले काठमाडौं क्षेत्र नम्बर ४ का विभिन्न स्थानमा मतदातालाई पैसा बाँडिसकेपछि क्षेत्र नम्बर ५(ख) पुगेका थिए । क्षेत्र नम्बर ४ का कांग्रेस कार्यकर्ताको सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । अध्यक्ष डंगोल काठमाडौं क्षेत्र नम्बर ४ र ५ पर्ने बुढानिलकण्ठ नगरमा एमालेको चुनावी कमाण्डरका रुपमा खटिएका छन् ।

उनीहरुलाई बुढानिलकण्ठ नगरपालिका– ६ का कर्मचारी बुद्ध लक्ष्मी तामाङको घरबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा क्षेत्र नम्बर ५ (ख) का प्रदेशसभा उम्मेदवार दीपक निरौला, अध्यक्ष डंगोल, बुढानिलकण्ठ नगरपालिका–६ का वडाध्यक्ष रवि खड्कालगायत छन् । निरौलाले पैसा बाँडेको भन्ने हल्ला गलत भएको प्रतिक्रिया दिएका छन् । उनले आफन्त विरामी भएकाले भेट्न गएको बताएका छन् ।

Advertisement

काठमाडौं ५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र काठमाडौं ४ मा एमालेकै डा.राजन भट्टराई प्रतिनिधिसभातर्फका उम्मेदवार छन् । पोखरेललाई कांग्रेसका प्रदीप पौडेल र डा. भट्टराईलाई कांग्रेस महामन्त्री गगन थापाले कडा चुनौती दिइरहेका छन् ।

पोखरेल र डा.भट्टराईकै निर्देशनमा एमाले नगर स्तरका जिम्मेवार नेता तथा कार्यकर्ताहरुमतदातालाई विभिन्न प्रलोभन देखाउँदै पैसा बाँड्न थालेको बताइएको छ । पक्राउ परेकाहरुलाई प्रभागबाट महाराजगन्ज वृत्त लगेर थप अनुसन्धान गरिने बताइएको छ ।

पैसा बाँडेको विषयलाई लिएर प्रहरी प्रभाग बूढानीलकण्ठमा नाराबाजी भएको छ । कांग्रेस समर्थक कार्यकर्ता वृत्तमा पुगेर दोषीमाथि कडा कारबाहीको माग गर्दै नाराबाजी गरेका हुन् । कांग्रेस कार्यकर्ता ठूलो संख्यामा उपस्थित भइ नाराबाजी गर्न थालेपछि सो क्षेत्रमा प्रहरी सुरक्षा बढाइएको छ ।