काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठक शुरु भएको छ । आज (मंगलबार) तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसिरहेको एमाले स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधव नेपाल पक्ष र बामदेव गौतम भने उपस्थित छैनन् ।
नेपाल पक्ष विगतदेखि नै एमाले बैठकमा सहभागी भएको छैन । तर, पछिल्ला केही बैठकमा बामदेव गौतमले भने सहभागिता जनाएका थिए । तर, संसदमा साउन ३ गते प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदा विपक्षमा मतदान गर्न ह्विप जारी गरेपछि गौतमले एमाले अध्यक्ष ओलीविरुद्ध अभिव्यक्ति दिएका थिए ।
सरकारले संसद्को जारी अधिवेशन अन्त्य गरेपछि दल विभाजन गर्न सहज हुने गरी अधयादेश ल्याउने भन्दै त्यसो गरे मान्य नहुने भनेर एमाले अध्यक्ष ओलीले सोमबार साँझ नै विज्ञप्ति जारी गरेका थिए ।
आफ्ना पार्टीका सांसदहरूलाई दल छोडेर जान पटक–पटक चेतावनी दिएका ओली संसद्को अधिवेशन अन्त्य भएपछि भने झस्किएका छन् । त्यसैले ओलीले स्थायी कमिटि बैठकपछि आजै संसदीय दलको बैठक डाकेका छन् । एमाले संसदीय दलको बैठक दिउसो २ बजे संसद् भवन नयाँ बानेश्वरमा बोलाएको एमाले संसदीय दलका प्रमुख सचेतक समेत रहेका विशाल भट्टराईले जानकारी दिए ।
दुवै बैठक पछिल्लो विकसित राजनीतिक घटनाका बारेमा छलफल गर्न बोलाएको भट्टराईको भनाइ छ । सरकारले नेकपा विभाजन हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि राजनीति वृत्तमा तरङ्ग पैदा भएको छ ।