July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

जनकपुरबाट शैक्षिक भ्रमणमा आएको बस धरानमा दुर्घटना, ५ जनाको मृत्यु

विराटनगर । सुनसरी जिल्लाको धरानमा बस दुर्घटना हुँदा १ बच्चासहित ५ जनाको मृत्यु भएको छ । धनकुटाको भेडेटारबाट धरानतर्फ आउँदै गरेको १ ख ७११९ नम्बरको बस अचानक ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

एक प्रत्यक्षदर्शीका अनुसार ब्रेक फेल भएको बस अनियन्त्रित भएपछि धरान उपमहानगरपालिका–१३ स्थित जिरो जिरो पोइन्टको दुर्घटनामा बसले जिरो प्वाइन्टमा रहेको औषधि पसल ‘न्यु शबा मेडिकल’मा ठक्कर दिँदा पसलसमेत क्षतिग्रस्त भएको छ। ‘ब्रेक फेल भएको बस एक्कासी औषधि पसलमा गएर ठोक्कियो । औषधि किन्न उभिएका दुईजना ट्रेनिङ सेन्टरका युवाहरुलाई पनि ठक्कर दियो । ठक्करबाट औषधि पसलमा पनि क्षति पुगेका छ,’एक प्रत्यक्षदर्शीले बताईन् ।

प्रहरीकाअनुसार जनकपुरबाट धरानको भेडेटार शैक्षिक भ्रमण आएको बस दुर्घटनामा परेको हो ।

Advertisement

दुर्घटनामा बसमा सवार यात्रु घाइते भएको बताइएको छ । घाइते यात्रुहरूलाई तत्काल उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

हालसम्म मृतकहरूको पहिचान खुल्न सकेको छैन । प्रहरीका अनुसार शवहरू पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउने तयारी प्रहरीले गरेको छ ।