काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले काँग्रेस जस्तो समावेशी अरु कुनै पार्टी नभएको दाबी गरेका छन् । शनिबार काँग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाद्वारा लिखित “नेपालीका सपना अधुरै” नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले
नेपाली राजनीतिमा महिलाको सहभागिता बढ्दै गएको भन्दै आफूहरूले राज्यको महत्वपूर्ण पदमा महिलाको उपस्थितिको ग्यारेन्टी गर्दै गएको बताएका हुन् ।
उनले भने, ‘नेपालको राजनीतिमा महिलाको सहभागिता बढ्दै गएको छ । हामीले राज्यका महत्त्वपूर्ण पदमा महिलाको उपस्थितिको ग्यारेन्टी गर्दै गएका छौँ । अहिले राष्ट्रपति र उपराष्ट्रपति मध्ये एक महिला हुने व्यवस्थापन छ । सभामुख र उपसभामुख मध्ये पनि एक जना महिला अनिवार्य हुनुपर्ने संविधानमै व्यवस्था गरेका छौँ ।’
यस्तै देउवाले काँग्रेसले संविधानको व्यवस्था अनुसार पार्टीमा ३३ प्रतिशत महिलालाई पार्टीको केन्द्रीय कार्यसमिती र तलका तहमा सुनिश्चिता भएको छ, अन्य समुदायको पनि पार्टी नेतृत्वमा प्रतिनिधित्व भएको बताउदै नेपालमा काँग्रेस जस्तो समावेशी पार्टी अरु कुनै नभएको बताए ।