November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

मेयरको टिकट नपाएपछि काँग्रेस परित्याग

झापा । कनकाई नगरपालिकाको मेयरका आकांक्षी शेरबहादुर थापाले पार्टीबाट राजिनामा दिएका छन् । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि शेरबहादुर थापाले उम्मेदवार छनोटमा घात गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।

थापाले अन्तिम अवस्थामा आएर जिल्ला र प्रदेश नेतृत्वले टिकट नदिएपछि राजीनामा दिएका हुन् । टिकट दिने विषयमा जिल्ला सभापति देउमान थेबे र प्रदेश १ सभापति उद्धव थापा सकारात्मक नभएको उनको गुनासो छ । कनकाई नगरपालिकाको मेयरको टिकट रुद्र चिमरियाले पाएका छन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै साधारण सदस्यसमेत नरहने गरी नेपाली काँग्रेस परित्याग गरेको घोषणा गरेका हुन् । लामो समयदेखि राजनीतिसँगै सामाजिक क्षेत्रमा काम गर्दै आएका थापाले टिकट नपाउँदा उनका समर्थक तथा शुभचिन्तकहरु समेत दुखी भएका छन् ।

Advertisement

खासगरी कोरोना कहरका बेला हरेक नगरबासीका घरमा स्वास्थ्य सामग्रीसहित पोषिलो खानेकुरा लिएर पुगेका थापा गरिब र विपन्न समुदायका नागरिकको दुःखको सारथी बन्दै आएका छन् । आज नै थापाले थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने कुरा बुझिएको छ ।

थापाले सामाजिक सञ्जालमा लेखेका छन् ‘झापा क्षेत्र नं २ को महाधिवेशन प्रतिनिधि म शेरबहादुर थापा नेपाली कांग्रेस नेविसंघमा २०३७ सालबाट प्रवेश गरी २०५३–१०–१५ गते सक्रिय सदस्य प्राप्त गरी हालसम्म निरन्तर पार्टीमा सक्रिय रहिराखेको र पार्टीको काममा निरन्तर सेवा गरेर बफादार रही पार्टीको जिम्मेवारी पूरा गरी सामाजिक काममा समेत अग्रसर भएको अवस्थामा पार्टीको सम्पूर्ण सक्रिय सदस्यहरुको भावनालाई कदर गर्ने गरेको छु ।

उहाँहरुको भावनाअनुरुप पार्टीले काम गर्न नसकेको र विधि विधान भन्दा लोभीपापीहरूको संगठनमा हावी भएकाले पार्टीलाई उच्च सम्मान गर्दै साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको छु । नोटः पार्टी गलत नभएको र पार्टीलाई सधैं म सम्मान नै गर्नेछु । जय नेपाल १’