विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र साह ‘बालेन’लाई जिताउन भनी रास्वपामा गएका एमालेनिकट युवा संघको दमक नगर कमिटी सचिव कमल गैरे एमालेमै फर्किएका छन् ।
रास्वपामा गएको २४ घन्टा नबित्दै उनले सामाजिक सञ्जालमा केपी शर्मा ओलीसँगको तस्बिर सार्वजनिक गर्दै एमालेमा नै फर्किएको उद्घोष गरेका हुन् ।
गैरेले विद्यार्थी जीवनदेखि आफू एमालेको जनसंगठन अनेरास्ववियु हुँदै राष्ट्रिय युवा सङ्घ दमक नगर कमिटीको सदस्य, उपसचिव सचिवको भूमिका निर्वाह गरी पार्टीको संगठित सदस्य रहेर लामो समयदेखि विभिन्न गतिविधिमा इमानदारीपूर्वक लाग्दै आएको बताएका छन् ।
केही व्यक्तिको दबाब र प्रभावमा परेको भन्दै उनले एमाले मात्र राष्ट्र र जनताको आशा र भरोसाको केन्द्र रहेको बताएका छन् । गैरेले आफू समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा बोकेको पार्टीमै रहेकाले समग्र राष्ट्रको विकासको राष्ट्रनायक केपी ओली भएको जिताउन लाग्ने बताएका छन् ।